Loading...
Larger font
Smaller font
Copy
Print
Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First
    Larger font
    Smaller font
    Copy
    Print
    Contents

    २. मानिस र शैतानको बीच दुश्‍‍मनी

    (अंग्रेजी पुस्तक अध्याय ३० पृष्‍ठ ५०५)

    “तेरो र स्‍‍त्रीको बीचमा, र तेरो सन्तान र स्‍‍त्रीको सन्तानको बीचमा म दुश्‍‍मनी हालिदिनेछु । त्यसले तेरो शिर कुच्‍च्याउनेछ, र तैंले त्यसको कुर्कुच्‍चो डस्‍नेछस् ।” उत्पत्ति ३:१५ । मानिसको पतनपछि शैतानको विरूद्ध फैसला भएको दैवीय सजायचाहिँ एक अगमवाणी पनि थियो, जसले सारा युगहरूदेखि समयको अन्तसम्म समेटेर पृथ्वीमा रहने मानिसका समस्त जातिहरू समावेश हुने महान् संघर्षको चेतावनी चिन्ह स्‍वरूप केन्द्रित गरेको थियो ।MBA 21.1

    परमेश्‍‍वर घोषणा गर्नुहुन्छ: “म दुश्‍‍मनी हालिदिनेछु ।” यो दुश्‍‍मनी स्‍वभाविकरूपले मनमा प्रवेश गरेको होइन । जब मानिसले दैवीय व्यवस्था उल्‍लङ्घन गरे, तब तिनको स्‍वभाव दुष्‍ट भयो, र तिनी शैतानबाट फरक भएनन् तर मिलाप गरे । पापपूर्ण मानिस र पापको सृजकको बीच स्‍वभाविकरूपमा दुश्‍‍मनी छैन । पतनद्वारा दुवै दुष्‍ट भए । जबसम्म उसले अरूलाई त्यसको अनुसरण गर्ने लालच देखाउनेद्वारा सहानुभूति र समर्थन प्राप्‍त गर्दैन तबसम्म त्यो पतित प्राणी कहिले पनि शान्त रहँदैन । यसकारण पतित दूतहरू र दुष्‍ट मानिसहरू भयङ्कर संगतिमा एकत्र हुन्छन् । यदि परमेश्‍‍वरले विशेष मध्यस्थता नगर्नुभएको भए, शैतान र मानिसले स्‍वर्गको विरूद्धमा सन्धि गाँस्‍ने थिए; शैतानको विरूद्ध दुश्‍‍मनी धारणा राख्‍नुको सट्टामा सम्पूर्ण मानविक परिवार परमेश्‍‍वरको विरोधमा संयुक्त हुने थिए ।MBA 21.2

    जसरी शैतानले स्‍वर्गदूतहरूलाई विद्रोहतर्फ अगुवाइ गऱ्यो, त्यसरी नै उसले मानिसलाई पापको परीक्षा दियो, ताकि यसरी त्यसले स्‍वर्गको विरूद्ध युद्धमा सहकार्य प्राप्‍त गर्न सकोस् । ख्रीष्‍टलाई घृणा गर्ने प्रसङ्गमा मात्र ऊ र पतित दूतहरूको बीच कुनै पनि फाटो थिएन; जबकि अन्य सम्पूर्ण विषयहरूमा चाहिँ तिनीहरूका बीचमा विभाजन थियो, तर तिनीहरू ब्रमाण्डको शासकको अधिकारलाई विरोध गर्नचाहिँ दृढतासाथ एकमत भएका थिए । तर आफू र स्‍‍त्री, त्यसको सन्तान र स्‍‍त्रीको सन्तानको बीचमा हुनुपर्ने दुश्‍‍मनीको घोषणा जब शैतानले सुन्यो, तब उसलाई थाहा भयो कि अब मानविक स्‍वभावलाई भ्रष्‍ट पार्ने त्यसका प्रयत्‍नहरूमा बाधा पुग्‍ने थियो; जसमा कि मानिस कुनै माध्यमहरूद्वारा त्यसको शक्तिलाई प्रतिकार गर्न सक्षम हुनुपर्ने थियो ।MBA 21.3

    मानवजातिको विरूद्ध शैतानको दुश्‍‍मनी सुरु भएको छ किनकि ख्रीष्‍टद्वारा तिनीहरू परमेश्‍‍वरको प्रेम र कृपाको पात्र भएका छन् । त्यसले उहाँको हस्तकलालाई मेटाउने तथा अशुद्ध पार्नेद्वारा मानिसको मुक्तिका खातिर सृजित दैवीय योजना निष्फल पार्ने साथै परमेश्‍‍वरप्रति अनादर प्रकट गर्ने चाहना गर्दछ; स्‍वर्गमा पनि उसले वेदना ल्याउने नै थियो र पृथ्वी विपत्ति र उजाड़ पार्ने थियो । अनि त्यसले देखाउँछ कि परमेश्‍‍वरले मानिस सृष्‍टि गर्नुभएको कारणले नै यी सबै दुष्‍टताहरू आएका हुन् ।MBA 22.1

    जुन अनुग्रह ख्रीष्‍टले हृदयमा रोप्‍नुहुन्छ त्यसैले शैतानको विरूद्धमा दुश्‍‍मनी सृजना गर्दछ । यो परिवर्तन गर्ने अनुग्रह र पुनर्निर्मित शक्तिविना मानिस शैतानको कैदी नै रहने थिए, त्यसको आदेश मान्न सदाका लागि आज्ञाकारी दास हुने थिए । तर नयाँ सिद्धान्त आत्मामा आएपछि लड़ाइँ सृजना गर्दछ जुन ठाउँ अहिलेसम्म शान्ति नै थियो । जुन शक्ति ख्रीष्‍टले प्रदान गर्नुहुन्छ त्यसले मानिसलाई स्‍वेच्छाकारी र जबरजस्ती शक्तिको प्रतिकारमा सक्षम तुल्याउँदछ । जसले पापलाई प्रेम होइन तर घृणा गरेको देखिन्छ, जसले अधीनमा राख्‍ने ती अभिलाषाहरूलाई भित्रबाटै प्रतिकार गर्छ र परास्त गर्छ, त्यसले यस्तो एक सिद्धान्तको परिचालनको प्रदर्शन गर्दछ जुन पूर्णरूपले माथिबाट आएको हुन्छ ।MBA 22.2

    संसारले येशूलाई ग्रहण गर्ने समयमा ख्रीष्‍टको आत्मा र शैतानको आत्मा बीच भएको शत्रुता सबभन्दा अचम्मलाग्दो तरिकाले प्रदर्शन भएको थियो । यहूदीहरूले उहाँलाई अस्‍वीकार गर्न पुगे, उहाँ सांसारिक धन, बाहिरी ढाँचा, वा ऐश्‍‍वर्यरहित देखिनु भएको कारणले मात्र होइन । तिनीहरूले देखे कि उहाँले यस्तो शक्ति धारण गर्नुभएको थियो जसले यी भौतिक फाइदाहरूको अभावलाई प्रचुर मात्रामा पूर्ति गर्ने थियो । तर ख्रीष्‍टको शुद्धता र पवित्रताले उहाँको विरूद्धमा भक्तिहीनको घृणा उक्सायो । उहाँको आत्म-इन्कारपूर्ण जीवन र पापरहित समर्पण नै घमण्डी र भोगविलासी मानिसहरूलाई सदासर्वदाका लागि हप्की ठहरिएको थियो । यसले नै परमेश्‍‍वरका पुत्रको विरूद्ध दुश्‍‍मनी जगायो । शैतान र दुष्‍ट दूतहरू दुष्‍ट मानिसहरूसँग एकमत भए । सारा पतित शक्तिहरूले सत्यताको कप्‍तानको विरूद्ध षड्‌यन्‍‍त्र रचे ।MBA 22.3

    जसरी तिनीहरूका मालिकप्रति दुश्‍‍मनी प्रकट भएको थियो त्यस्तै ख्रीष्‍टका अनुयायीहरूप्रति पनि प्रकट भएको छ । जसले पापको घृणित चरित्र देख्‍छ, र माथिबाट आएको सामर्थ्यद्वारा परीक्षाको प्रतिकार गर्दछ, उसले निश्‍चय नै शैतान र त्यसका जनताहरूको क्रोध उत्तेजित पार्नेछ । जबसम्म पाप र पापीहरू रहन्छन् तबसम्म सत्यताका शुद्ध सिद्धान्तहरूप्रति घृणा, र त्यसका समर्थकहरूप्रति अपमान र सतावट पनि रहनेछ । ख्रीष्‍टका अनुयायीहरू र शैतानका दासहरू मिल्‍न सक्दैनन् । क्रूसको ठक्‍कर बन्द भएको छैन । “ख्रीष्‍ट येशूमा भक्तिसाथ जीवन बिताउन इच्छा गर्नेहरू सबै जना सतावटमा पर्ने नै छन् ।” २ तिमोथी ३:१२ ।MBA 23.1

    शैतानका समर्थकहरू उसको अधिकार स्थापना गर्न र उसको राज्य निर्माण गर्न उसको निर्देशनअनुसार परमेश्‍‍वरको सरकारको विरोध निरन्तरसाथ काम गरिरहेका छन् । यही उद्देश्‍‍य पूरा गर्नका लागि तिनीहरूले ख्रीष्‍टका चेलाहरूलाई बहकाउने र तिनीहरूलाई भक्तिबाट प्रलोभन देखाउने प्रयास गर्दछन् । तिनीहरूका अगुवाले झैँ तिनीहरूले पनि तिनीहरूका उद्देश्‍‍यअनुकूल धर्मशास्‍‍त्रहरूलाई कुव्याख्या गर्दछ र भ्रष्‍ट पार्दछ । जसरी शैतानले परमेश्‍‍वरलाई निन्दा गर्ने प्रयत्‍न गऱ्यो, त्यसरी नै त्यसका समर्थकहरूले परमेश्‍‍वरका जनहरूलाई अपमान गर्ने प्रयास गर्दछन् । जुन आत्माले ख्रीष्‍टलाई मृत्युदण्ड दिएको थियो, दुष्‍टहरू त्यही आत्माद्वारा परिचालित भई उहाँका अनुयायीहरूलाई नष्‍ट गर्दछन् । यो प्रथम अगमवाणीमा यी सबै कुराहरूको छायाङ्कन गरिएको थियो: “तेरो र स्‍‍त्रीको बीचमा, र तेरो सन्तान र स्‍‍त्रीका सन्तानको बीचमा म दुश्‍‍मनी हालिदिनेछु ।” अनि यो समयको अन्तसम्म नै निरन्तर चलिरहनेछ ।MBA 23.2

    शैतानले त्यसका अधिकांश शक्तिहरूलाई बोलाउँदछ र त्यसको सारा शक्ति लड़ाइँमा प्रयोग गर्दछ । किन त्यसलाई कसैले कड़ा प्रतिकार गर्दैन त ? किन ख्रीष्‍टका सिपाहीहरू यति निदाउरो र असावधान छन् ? किनकि तिनीहरूको ख्रीष्‍टसँग वास्तविक सम्बन्ध अति अल्प छ; किनकि तिनीहरू उहाँको आत्माको अति अभावमा छन् । तिनीहरूका मालिकको नजरमा पाप जति घृणाजनक थियो तिनीहरूको दृष्‍टिमा त सो त्यस्तो छैन । जसरी ख्रीष्‍टले निर्णायक र निश्‍चित भई प्रतिकार गर्नुहुन्थ्यो, त्यसरी तिनीहरूले गर्दैनन् । तिनीहरूले पापको अत्याधिक दुष्‍टता र कपटता महसुस गर्दैनन्, र तिनीहरू अन्धकारको राजकुमारको चरित्र र शक्ति दुवैप्रति अन्धो भएका छन् । शैतान र त्यसका कामहरूप्रति शत्रुता थोरै मात्र छ, किनकि त्यसको शक्ति र घृणा, ख्रीष्‍ट र उहाँको चर्चको विरूद्धमा त्यसको युद्धको विशाल क्षेत्रको विषयमा त्यहाँ अति नै अज्ञान छ । भीड़हरू यही नै भ्रममा परेका छन् । तिनीहरूलाई थाहा छैन कि तिनीहरूको शत्रु एक शक्तिशाली सेनापति हो जसले दुष्‍ट दूतहरूका दिमागहरूलाई नियन्‍‍त्रण गर्दछ, र पूर्ण विकसित योजनाहरू र कलात्मक हलचलसाथ त्यसले मानिसहरूको मुक्ति प्रतिकूल ख्रीष्‍टको विरूद्ध लड़ाइँ गरिरहेको छ । इसाई दाबी गर्नेहरू साथै सुसमाचारका प्रचारकहरूको बीचमा पनि शैतानको सम्बन्धमा कुरा गरेको त्यति सुनिँदैन, शायद कहिलेकाही पुल्पिटबाट प्रासंगिकरूपमा बताउन सक्छ । त्यसको निरन्तर कार्य र सफलताका प्रमाणहरूलाई तिनीहरू बेवास्ता गर्छन्; तिनीहरूले त्यसको चतुऱ्याइँका धेरै चेतावनीहरूलाई वास्ता गर्दैनन्; तिनीहरूले त्यसको अस्तित्‍वलाई नै उपेक्षा गर्छन् ।MBA 23.3

    मानिसहरू त्यसका युक्तिहरूमा अज्ञात् भएतापनि यो सचेत शत्रुचाहिँ प्रत्येक क्षण तिनीहरूको बाटो ढुकिरहन्छ । प्रत्येक घरायसी विभागमा, हाम्रा शहरहरूका प्रत्येक सड़कमा, चर्चहरूमा, राष्‍ट्रिय परिषद्‍हरूमा, न्यायालयहरूमा ऊ आफै जबरजस्ती उपस्थित भएर कष्‍ट दिँदै, बहकाउँदै, फसाउँदै, जताततै पुरूषहरू, स्‍‍त्रीहरू र केटाकेटीहरूका आत्माहरू र शरीरहरूलाई नष्‍ट पार्दै, परिवारहरू भत्काउँदै, घृणा, इखालुपन, लड़ाइँ, विश्‍‍वासघात्, हत्या फैल्याउँदैछ । अनि यी कुराहरू परमेश्‍‍वरका नियुक्ति हुन् र यी कुराहरू हुनैपर्छ भनी इसाईजगतले मान्यता दिएको जस्तो देखिन्छ ।MBA 24.1

    तिनीहरूलाई संसारबाट भिन्न पार्ने पर्खालहरू तोड्‍नेद्वारा शैतानले परमेश्‍‍वरका जनहरूलाई पराजय गर्ने निरन्तर प्रयास गरिरहेछ । प्राचीन इस्राएलले जब अन्यजातिसँग निषेध गरिएको सम्बन्धतर्फ जोखिम उठायो, तब तिनीहरू पापमा फसे । त्यस्तै तरिकाले आधुनिक इस्राएल पनि बहकिएको छ । “ख्रीष्‍ट, जो परमेश्‍‍वरको रूप हुनुहुन्छ, उहाँको महिमाको सुसमाचार तिनीहरूले नदेखून् भनेर यस संसारको देवले अविश्‍‍वासीहरूको समझलाई अन्धो तुल्याइदिएको छ ।” २ कोरिन्थी ४:४ । जोजो ख्रीष्‍टका निर्णायक अनुयायीहरू होइनन् तिनीहरू सबै शैतानका दासहरू हुन् । शारीरिक हृदयमा पापप्रति माया हुन्छ र यसमा स्‍नेह गर्ने र बहाना गर्ने स्‍वभाव हुन्छ । पुनर्निर्मित हृदयमा पापप्रति घृणा हुन्छ र त्यसको विरूद्ध निर्णायक प्रतिकार हुन्छ । जब इसाईहरूले भक्तिहीन र अविश्‍‍वासीका समाज चुन्छन्, तब तिनीहरू आफै परीक्षाप्रति रक्षाविहिन हुन्छन् । शैतानले आफैलाई तिनीहरूका दृष्‍टिबाट लुकाउँछ र तिनीहरूका आँखाहरूमाथि त्यसले चाल नपाउने गरी छलपूर्ण पर्दा लगाइदिन्छ । तिनीहरूले देख्दैनन् कि यस्तो समूहले तिनीहरूलाई हानि गर्ने दाउ हेरिरहेको छ; र जब चरित्र, शब्दहरू, र व्यवहारहरूमा तिनीहरू सँधैभरि संसारजस्तै हुँदैजान्छन्, तब तिनीहरू झन-झन अन्धो भइरहेका हुन्छन् ।MBA 24.2

    सांसारिक चलनहरूसँग समानताले चर्चलाई संसारमा परिवर्तन गर्दछ; यसले संसारलाई कहिले पनि ख्रीष्‍टतर्फ परिवर्तन गर्दैन । त्यसरी नै पापसँग घनिष्‍ठताले निश्‍चय नै त्यो त्यति घृणाजनक देखा पर्दैन । जसले शैतानका दासहरूसँग सम्बन्ध गाँस्‍ने निर्णय गर्छ उसले चाँड़ै नै तिनीहरूको मालिकसँग आतङ्‌कित बन्न छोड्‍नेछ । जब कर्तव्यको गोरेटोमा हामी परीक्षामा पर्छौं तब राजाको दरबारमा दानिएल निश्‍चित भएझैँ हामी पनि निश्‍चित हुन सक्छौं कि परमेश्‍‍वरले हामीलाई बचाउनुहुनेछ; तर यदि हामी आफैलाई परीक्षाको अधीनमा राख्‍छौं भने ढिलो वा चाँडो जतिखेर पनि हामी लड्‍नेछौं ।MBA 25.1

    जुन व्यक्तिहरूले उसको अधीनमा छौ भनी अल्प आशंका गरेका हुन्छन्, त्यो परीक्षाकर्ताले प्राय: तिनीहरूद्वारा नै सबभन्दा सफलतापूर्वक काम गर्दछ । प्रतिभाशाली र शिक्षितहरूलाई प्रशंसा र आदर गरिएका हुन्छन्, जस्तो कि यी योग्यताहरूले परमेश्‍‍वरको भयको अनुपस्थितिमा मानिसहरूको प्रायश्‍चित गर्न सक्थ्यो अथवा उहाँको अनुग्रहको हकवाला बनाउन सक्थ्यो । प्रतिभा र शिक्षा नै परमेश्‍‍वरका उपहारहरू स्‍वरूप मान्यता दिइएको छ; तर जब तिनीहरूले यी कुराहरूलाई भक्तिको पूरक बनाएका हुन्छन्, जब मानिसलाई अझै परमेश्‍‍वरको नजीक ल्याउनुभन्दा पनि उहाँदेखि टाढ़ा लैजान्छन् भने ती कुराहरू नै एक सराप र पासो हुन्छन् । शिष्‍टता र भद्रता जस्तो देखिने सब कुराहरू ख्रीष्‍टसँग नै सम्बन्धित हुनुपर्छ भन्ने धारणा धेरै जनाको दिमागमा प्रवेश गरेको छ । यति ठूलो गल्ती कहिले पनि भएको थिएन । यी गुणहरूले प्रत्येक इसाईको चरित्रलाई आकर्षित गर्नुपर्ने थियो, किनकि तिनीहरूले सत्य धर्मको पक्षमा शक्तिशाली प्रभाव पार्ने चेष्‍टा गर्ने थियो, तर तिनीहरू परमेश्‍‍वरमा समर्पित भएको हुनुपर्दछ, नत्रता तिनीहरू पनि एक दुष्‍टताको शक्ति बन्न पुग्छन् । शिक्षित विवेक र सुशील स्‍वभावका कुनै मानिसले सर्वमान्य अनैतिक कार्य गर्न आफैलाई होच्याउँदैन, तापनि त्यो शैतानको हातमा छरिटो पारिएको औजार मात्र हुन्छ । उसको विश्‍‍वासघाती, छलपूर्ण चरित्रको प्रभाव र उदाहरण ख्रीष्‍टको कामप्रति अज्ञानी र अशिक्षितहरूभन्दा अझै डरलाग्दो शत्रु बन्दछ ।MBA 25.2

    उत्सुक प्रार्थना र परमेश्‍‍वरमाथि दृढ भरोसाद्वारा नै सलोमनले संसारलाई अचम्म र चकित पार्ने बुद्धि प्राप्‍त गरे । तर जब तिनी आफ्‍नो सामर्थ्यको स्रोतबाट टाढ़ा गए, र त्यसपछि आफैमाथि भरोसा राखेर अघि बढे, तब तिनी परीक्षामा एक शिकार बन्न पुगे । त्यसपछि राजाहरूबाट सबभन्दा बुद्धिमानी राजालाई प्रदान गरिएका यी आर्श्‍चयचकित शक्तिहरूचाहिँ हृदयहरूको दुश्‍‍मनको एक झन प्रभावकारी माध्यम मात्र भए ।MBA 26.1

    जब शैतानले निम्‍न लिखित वास्तविकताप्रति तिनीहरूको दिमागलाई अन्धो बनाउने अथक प्रयास गरिरहेको हुन्छ, तब इसाईहरूले यो कुरा कहिले पनि नबिर्सोस् कि तिनीहरूको “युद्ध शरीर र रगतको विरूद्ध होइन, तर प्रधानताहरूका विरूद्ध, शक्तिहरूका विरूद्ध, वर्तमान अन्धकारका सांसारिक शासकहरूका विरूद्ध र स्‍वर्गीय स्थानहरूमा भएका दुष्‍ट्‌याइँका आत्मिक सेनाहरूका विरूद्ध हो ।” एफिसी ६:१२ । प्रेरणादायिक चेतावनीले शताब्दीहरूदेखि हाम्रो समयलाई पनि समेटेर ल्याएको छ: “सचेत रहो, जागा रहो, तिमीहरूको शत्रु दियाबलस कसलाई भेटाऊँ र खाइहाँलू भनी गर्जने सिंहझैँ खोजिहिँड्‍छ ।” १ पत्रूस ५:८ । “दियाबलसका युक्तिहरूका विरूद्धमा खड़ा हुन सक्‍नलाई परमेश्‍‍वरका सारा हातहतियार धारण गर ।” एफिसी ६:११ ।MBA 26.2

    आदमको समयदेखि हाम्रो आफ्‍नै समयसम्म हाम्रो ठूलो शत्रुले अत्याचार र नष्‍ट गर्न उसको शक्ति प्रयोग गरिरहेछ । उसले अब चर्चको विरूद्धमा आफ्‍नो अन्तिम लड़ाइँको तयारी गरिरहेछ । जसले येशूलाई अनुसरण गर्ने प्रयास गर्दछन् तिनीहरू सबैले यो निर्दयी शत्रुसँग संघर्ष गर्नुपर्नेछन् । कुनै इसाईले जति निकटतासाथ दैवीय नमूनाको अनुसरण गर्दछ, त्यति नै उसले आफैलाई शैतानका आक्रमणहरूतिर निश्‍चित निशाना बनाउनेछ । जोजो परमेश्‍‍वरको कार्यमा दुष्‍ट जनका छलहरूलाई खुल्‍ला पार्ने प्रयास गर्दै, र मानिसहरूको सामु ख्रीष्‍ट प्रकट गर्दै क्रियाशीलसाथ लागी परेका छन्, तिनीहरू सबै पावलको गवाहीमा समावेश हुन सक्‍नेछन्, जसले सारा दिमागको नम्रतासाथ, धेरै आँसुहरू र परीक्षाहरूसाथ प्रभुलाई सेवा गर्ने विषयमा कुरा गर्दछ ।MBA 26.3

    शैतानले ख्रीष्‍टलाई उसको अत्यन्तै प्रचण्ड, र अति नै चतुऱ्याइँ परीक्षाहरूसाथ आक्रमण गरेको थियो, तर प्रत्येक लड़ाइँमा उसको पराजय भयो । ती लड़ाइँहरू हाम्रा खातिर लड़िएका थिए; ती विजयहरूले हामीलाई विजयी बन्न सम्भव बनाएका छन् । जसले खोजी गर्दछन् तिनीहरू सबैलाई ख्रीष्‍टले बल दिनुहुनेछ । उसको आफ्‍नै सहमतविना कुनै पनि मानिस शैतानबाट पराजय हुन सक्दैन । मानिसको इच्छाशक्तिलाई नियन्‍‍त्रण गर्ने वा मानिसलाई जबरजस्ती पापमा फसाउने परीक्षाकर्ताको केही शक्ति छैन । त्यसले कष्‍ट दिन सक्छ, तर दूषित पार्न सक्दैन । त्यसले मानसिक वेदना दिन सक्छ, तर अशुद्ध पार्न सक्दैन । ख्रीष्‍ट विजयी हुनुभएको छ भन्ने वास्तविकताले नै उहाँका चेलाहरूलाई पाप र शैतानको विरूद्धमा साहससाथ लड़ाइँ गर्ने उत्साह दिनुपर्दछ ।MBA 26.4

    Larger font
    Smaller font
    Copy
    Print
    Contents